समाचार
बंगलाचुलीमा कोरोना संक्रमण शुन्य, हाललाई नियन्त्रण कार्यले पायो विश्राम
बंगलाचुलीमा कोरोना संक्रमण शुन्य, हाललाई नियन्त्रण कार्यले पायो विश्राम
कमिरेचौर,१ साउन
____________________________
दाङको बंगलाचुली गाउँपालिकामा पहिलो चरणको कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएका व्यवस्थापन कार्यले हाललाई विश्राम पाएको छ । बंगलाचुली गाउँपालिका कोरोना संक्रमितका हिसावले जिल्लामै दोस्रो स्थानमा रहेको थियो ।यस गाउँपालिकामा १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । जसमा दुई जना अन्तरजिल्लाका रहेको र उनिहरुलाई आफ्नो जिल्ला प्युठानमा माण्डवी गाउँपालिकामा पठाईएको थियो ।
बाँकी संक्रमीत मध्य १४ जना झुलिडाँडा आईसोलेसनबाट , ८७ जना पद्ममोदय आईसोलेसनबाट र ५८ जना कोरोना अस्पताल वेलझुण्डीबाट कोरोना जितेर घर फर्कि सकेका छन् भने एक जना कोरोना संक्रमीत वेलझुण्डीमा उपचाररत रहेका छन् । बंगलाचुली गाउँपालिकाले १५ सय ३४ जनाको पिसीआर परिक्षणका लागि स्वाब संकलन गरी सबैंको रिपोर्ट समेत आई सकेको छ । जसमा १ सय ६२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
बंगलाचुली गाउँपालिकामा भारतबाट फर्केका १४ सय बढी बंगलाचुलीवासीको कोरोना परिक्षण गरीएको थियो ।साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधी र संक्रमितहरुको संपर्कमा आएका स्थानियहरुको कोरोना परिक्षण गरिएको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जि.सीले जानकारी दिनुभयो ।हाल बंगलाचुली गाउँपालिकामा रहेका सम्पुर्ण क्वारेन्टाईन तथा आईसोलेसनहरु खाली रहेको उहाँले बताउनु भयो ।
स्वास्थ्य शाखा प्रमुख जि.सीका अनुसार बंगलाचुली गाउँपालिका वडा नं.-४ को झुलिडाँडामा रहेको आईसोलेसनलाई आपतकालिन प्रयोजनका लागि तयारी अवस्थामा राखिएको छ । नेपाल सरकारले जारी गरेको स्वाव संकलन निर्देशिका अनुसार अहिलेलाई लक्षण विहिनहरुको स्वाव संकलन कार्य नगरीएको उहाँले बताउनु भयो ।
यसैविच बंगलाचुली गाउँपालिकाको व्यवस्थापनमा घोराहीको भरतपुरमा रहेको पद्ममोदय पव्लिक नमुना माध्यामिक विद्यालय भवनमा संचालन गरिएको जिल्ला स्तरीय आईसोलेसन बन्द गरिएको छ । बंगलाचुली गाउँपालिकामा कोरोना संक्रमीतहरुको संख्या शुन्य भएपछि आईसोलेसन बन्द गरिएको बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले बताउनु भयो ।
बंगलाचुली गाउँपालिकाले एक औपचारीक कार्यक्रमको आयोजनागरी आईसोलेसन स्थापना गर्न दिने पद्ममोदय पव्लिक नमुना माध्यामिक विद्यालय परिवारलाई कदर पत्र सहित उच्च सम्मान प्रकट गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वालीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कदर पत्र सहित उच्च सम्मान प्रकट गरीएको हो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार आचार्य र प्राचार्य राम प्रसाद जैसीलाई बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली,उपाध्यक्ष यमुना थापामगर र प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले संयुक्तरुपमा कदर पत्र हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा आईसोलेसन स्थापना गर्न सहजीकरण गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला सचिव एवं बंगलाचुलीवासी शुवास पुन, बंगलाचुली गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जि.सीले गर्नु भएको थियो ।